
सरकारले नै विद्यार्थीको दोहोरो भर्ना रोक्ने र नक्कली विद्यार्थी संख्या देखाउने प्रवृत्ति रोक्न डिजिटल प्रविधिको प्रयोगसँगै तथ्यांक व्यवस्थापन थालेपछि विद्यार्थी संख्या तथ्यांकमा घटेको पाइएको छ । लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म (आधारभूत तह) का विद्यार्थीको संख्या घट्दै गएको देखिएको छ ।
Advertisement 1
विद्यार्थीको दोहोरो भर्ना रोक्ने र खाजा खर्च रकम लिनकै लागि नक्कली विद्यार्थी देखाउने प्रवृत्ति रोक्न सरकारले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) लागू गरेपछि विद्यार्थी संख्या प्रशोधन हुँदै गएको हो ।
जसले गर्दा गलत तथ्यांक देखाउने प्रवृत्ति पनि हटेको शिक्षा विज्ञहरू बताउँछन् । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीले यथार्थ संख्या प्रशोधन गरेपछि लुम्बिनी प्रदेशमा मात्र दिवा खाजाबापतको खर्च दैनिक साढे २२ लाखभन्दा बढी रकम घटेको छ । त्यसले लुम्बिनीमा मात्र एक शैक्षिक सत्रमा ४० करोड रुपैयाँभन्दा बढी जोगिएको तथ्यांकमा देखिन्छ ।
Advertisement 2
सरकारले आधारभूत विद्यालयका विद्यार्थीलाई प्रतिदिन १५ रुपैयाँका दरले खाजाबापतको रकम उपलब्ध गराउँदै आएको छ । विद्यालयमा हाजिरी भएको दिनको आधारमा विद्यार्थीले उक्त रकम पाउने हुन् । सरकारबाट रकम भुक्तानी लिनकै लागि विद्यालयले सुरुवातमै विद्यार्थी संख्या बढी देखाएर पठाउने गरेका थिए । यही गलत प्रवृत्ति रोक्न सरकारले विगत तीन वर्षदेखि नै विद्यालयमा आईईएमआईएस लागू गरेको हो । जसमा विद्यार्थीको नाम, थर, जन्ममितिसहितको कोड तथा अभिभावकको पनि नाम र थरको विवरण राख्ने गरिन्छ । यसले गर्दा एउटै विद्यार्थी अर्को सरकारी विद्यालयमा भर्ना हुन खोजे डिजिटल डाटामार्फत देखिन्छ ।
एकीकृत तथ्यांक व्यवस्थापन सिस्टमबाटै विद्यार्थीको दोहोरो विवरण देखिन थालेपछि विद्यार्थी भर्ना र त्यसकै माध्यमबाट विद्यार्थी संख्या बढी देखाएर दिवा खाजाको अनधिकृत रकम भुक्तानी लिने प्रवृत्ति रोकिएको लुम्बिनीका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बताए । ‘पछिल्लो समय नियमित अनुगमन र विश्लेषणलाई पनि गम्भीरतापूर्वक निगरानी गरिरहेका छौं,’ उनले भने, ‘एकीकृत तथ्यांक व्यवस्थापन प्रविधिको प्रयोगबाट विद्यार्थीको तथ्यांक केलाउनेदेखि शिक्षकको हाजिरीसम्मलाई निगरानी गर्न थालेपछि सकारात्मक परिणाम देखिएको छ ।’ लुम्बिनी प्रदेशका केही स्थानीय तहले पनि त्यसको सफल अभ्यास गरिरहेको उनले बताए ।
Advertisement 3


