भदौ तेस्रो साता नेकपा एमाले पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई भारतले रुचाएको छैन भन्ने सन्देश जानेगरी अभिव्यक्ति नदिन भनेका थिए ।
Advertisement 1
उनले निकटका दुवै छिमेकसँग सन्तुलित सम्बन्ध राखिने कुरा दोहोर्याए । पोलिटब्युरो बैठकमा उनले दिन चाहेको सन्देश थिय-यो सरकारलाई भारत, चीन, अमेरिका लगायत सबैको समर्थन छ र सरकार सबैको विश्वास लिएर अगाडि बढ्छ ।
भारतसँग सम्बन्ध सुधार्न चाहेका उनै ओलीले सोमबार भने एकाएक टोन बदले । संयुक्त राष्ट्रसंघ महासभा जानुअघि प्रधानमन्त्री ओलीले संसदको रोष्ट्रममै उभिएर छिमेकलाई केही कडा सन्देश दिने प्रयास गरेका छन् । भलै उनले भारतको नाम भने लिएनन् तर उनको भावार्थ बुझ्न कठिन थिएन । प्रधानमन्त्री ओलीले भने, ‘नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ, छुद्र र जाली छिमेकी होइन ।’
Advertisement 2
उनले अगाडि थपे, ‘असल छिमेकीको रूपमा, छिमेकीको अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’
ओली र भारत सम्बन्धको उतारचढाव खोज्दै जाँदा हामी भारतीय नाकाबन्दी अनि नेपालको नक्सामा चुच्चे भूभाग समेट्दै गरिएको संविधान संशोधनको पृष्ठभूमिमा पुग्छैं । ती सबै उतारचढावलाई नयाँ परिवेशमा ओलीले फर्वार्ड लुकिङ अप्रोच राख्दै नयाँ आधारमा सम्बन्ध सुधार्न चाहेका थिए । त्यसका लागि भारतमा तेस्रोपल्ट प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदीको शपथ ग्रहण समारोहलाई ओलीले अवसरका रुपमा उपयोग गर्न चाहेका थिए ।
Advertisement 3
मोदीको शपथमा सहभागी हुन जान लागेका तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई प्रमुख सत्ता साझेदारका रूपमा ओलीले आफ्नो पार्टीका एकजना मन्त्रीलाई लिएर जान जोड दिए । त्यसमा ओलीको प्रमुख उद्देश्य थियो- भारतसँग सम्बन्ध सुधार्नु ।